म २१ वर्षीय अविवाहित छात्र हुँ । मेरो लिङ्ग सामान्यभन्दा सानो छ र अहिलेसम्म लिङ्गको टुप्पो च्यातिएको (दोब्रिएको) छैन । मैले अहिलेसम्म यौनसम्पर्क राखेको पनि छैन । पछि बच्चा नहुने पो हो कि भन्ने डर लागिरहन्छ । मेरो समस्याको समाधान के होला ?

४२५७



सामान्यत: हाम्रो लिङ्गलाई छालाले ढाकेको हुन्छ । बाल्यकालमा यो छाला लिङ्गको मुण्डसँग टाँसिएको हुन्छ तर ठूलो हुँदै गए पछि यो छुट्टिएर आए पनि यसको एक भाग भने तलतिर नै टाँसिएको हुन्छ । अब तपाईको समस्यालाई हेरौं ।

उपचार नगरे के होला ?

अग्रचर्मको प्वाल सानो र पछाडितिर फर्काउन नसकिने अवस्थालाई Phimosis भनिन्छ । यस्तो प्राय:जसो जन्मजात नै हुन्छ, तर कहिलेकाहीं लामो समयसम्म यो भागको संक्रमण हुँदा पनि हुन सक्छ । यो बाहिरी छालाको प्वाल साँगुरिएको भए पनि अलि बल प्रयोग गरेर पछाडि त फर्कायो, तर फेरि अगाडि ल्याउन सकिएन भने समस्या हुन्छ । यो छालाको साँगुरो भएको भागले लिङ्गको मुण्डमा कसिलो ब्यान्डजस्तै बनेर दबाब दिन्छ र सुन्निन्छ । यस्तो अवस्थालाई Paraphimosis भनिन्छ । तुरुन्तै उपचार गर्न सकियो भने शल्यक्रियाबिना नै पनि उपचार सम्भव छ, तर धेरै नै सुन्निसकेको छ भने यो कसिलो ब्यान्डलाई काट्नुपर्ने हुन्छ । कहिलेकाहीं यो छालामा भएको प्वाल निकै सानो हुन्छ र पिसाबको धारा पनि राम्रोसँग आउँदैन यदि मुण्डलाई जहिले पनि छोपिराख्ने अवस्था छ भने आवश्यक सरसफाइ हुन सक्दैन र संक्रमण तथा अन्य गम्भीर अवस्था उत्पन्न हुने खतरा हुन्छ । पिसाब गर्दा टुप्पाको छालामा पिसाब भरिएर फुलेर आउँछ र पछि बिस्तारै पिसाबको मसिनो धारा बाहिर निस्कन्छ । यसैगरी उक्त छालाको प्वाल निकै सानो छ भने मूत्र प्रणालीमा असर पर्न सक्छ । एक त जहिले पनि पिसाब फेर्न गाह्रो हुने नै भयो । मूत्रथैलीमा भएको सबै पिसाब पनि बाहिर ननिस्किई केही मात्रामा मूत्रथौलीमै बाँकी रहन्छ ।

Phimosis भएको हो भने circumcision भनिने एक किसिमको साधारण शल्यक्रिया गरी उपचार गर्न सकिन्छ । तपाईले यौन सम्पर्क राखिनसकेको कुरा लेख्नुभएको छ तर पनि लिङ्ग उत्तेजित हुँदा वा हस्तमैथुन गर्दा केही असजिलो भएको छ कि छैन लेख्नुभएको छैन । त्यस्तो छ भने त्यो पनि चासोको विषय हो ।

के गर्नु पर्ला ?

Phimosis भन्ने अवस्थाको उपचार एक किसिमको साधारण शल्यक्रिया अर्थात् काट्नु नै हो, जसलाई Circumcision भनिन्छ । यसका लागि शल्यचिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

शल्यक्रिया गरिनुपर्ने मुख्य कारण यौनसम्पर्कका बेला यसैका कारणले केही बाधा उत्पन्न हुनु हो । तपाईंको प्रश्नका आधारमा हेर्दा हालसम्म यौनसम्पर्क नराख्नुभएकाले यसका लागि केही समय पर्खनुपर्छ । हस्तमैथुन गर्नुभएको छ भने त्यसमा कुनै समस्या भए–नभएको पनि थाहा भएन । मुख्य कुरा के हो भने अग्रचर्म (बाहिरी छाला) लाई पछाडितिर फर्काउन नसक्दा लिङ्ग उत्तेजित हुँदा असजिलो हुने वा सम्भोग गर्दा नै अप्ठ्यारो पर्ने हुन सक्छ, तर उपचारपछि यौनसम्पर्क राख्न बाधा पर्दैन, त्यसैले डराउनुपर्ने स्थिति छैन ।

यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन । वास्तवमा यस्तो किसिमको शल्यक्रिया १०–१५ मिनेटमै सकिन्छ । बाल्यावस्थामै यस्तो शल्यक्रिया गर्दा बेहोस गराइरहनुपर्ने आवश्यकता पनि पर्दैन । दुखाइ मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ । शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ । शल्यचिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधी सेवन गर्नुपर्ने हुन सक्छ । त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुन: शल्यचिकित्सक कहाँ आउनुपर्छ । यस किसिमको शल्यक्रियामा साधारणत: धेरै खर्च पनि लाग्दैन । आफ्नो अवस्थाको उपचारका लागि अस्पताल वा अन्य स्वास्थ्य सेवा दिने केन्द्रहरूमा गएर शल्य चिकित्सा विभागमा वा शल्यचिकित्सकसँग भेट्नुहोला ।